जेष्ठ १७ , काठमाडौं । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी योजना अनुसार यहि मिति २०८१ जेष्ठ १९ गते देखि २४ गते सम्म होटल ले हिमालय, लाजिम्पाटमा २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन हुने राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी लुम्बिनी इभेण्ट म्यानेजमेण्टलाई प्रदान गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।
गत संस्करण खुल्ला तर्फ २३ औं नेशनल च्याम्पियनसिपका विजेता रुपेश जैसवाल, उप विजेता क्षितिज भण्डारी र तृतीय स्थान प्राप्त गरेका शुरवीर लामा साथै महिला तर्फका विजेता सुजना लोहनी, उपविजेता शुशीला गुरुङ र तृतीय स्थान प्राप्त गरेका खेलाडी शान्ति धिमाल स्वत: राष्ट्रिय प्रतियोगितामा खेल्ने भएका छन्।
यी खेलाडी सहित भक्तपुरमा हालै सम्पन्न नेशनल बी प्रतियोगितावाट छनौट भएका ९/९ जना गरि जम्मा १२/१२ जना खेलाडीले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन्।
खुल्ला तर्फ नेशनल बी वाट पुरुषोत्तम सिलवाल, मिलन लामा, केशब श्रेष्ठ, सुरोज महर्जन, राजीव कार्की, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, प्रेमकृष्ण महर्जन र शश्रुत दहाल छनौटमा पर्न सफल खेलाडीहरु हुन्। सुरवीर लामा विदेशमा रहेका कारण वैकल्पिक सुशील चौधरीले मौका पाउने छ ।
महिला तर्फ नेशनल बी वाट कृतिसरा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, बिनिता कपाली, अंशुदिल प्रजापति, पुनम प्रसाईं, श्रेषा दुवाल र सबिना गुज: छनौटमा पर्न सफल खेलाडी हुन्। सुजना लोहनी पनि विदेशमा रहेका कारण वैकल्पिक खेलाडी प्रश्ना किबानायोले मौका पाउने छ।
विश्व बुद्धिचाल महासंघले आउँदो सेप्टेम्बर १० देखि २३ गते सम्म हंगेरिको बुडापेष्टमा सञ्चालन गर्ने ४५ औं चेस ओलम्पियाड टिम च्याम्पियनसिपको मिति तय गरेको छ। नेपालको तर्फवाट सहभागी जनाउनेमा नयाँ नेपाल च्याम्पियन सहित शीर्ष ३ स्थान प्राप्त गर्ने खेलाडी रहने छन्। उनीहरु सँगै नेपालका उच्च रेटेड खेलाडी १/१ जना र निवर्तमान नेपाल च्याम्पियन १/१ जना गरि ५ पुरुष खेलाडी तथा ५ महिला खेलाडी उक्त प्रतियोगिताका लागि छनौट हुनेछन्।
नयाँ नेपाल च्याम्पियनले ३.२ जोनल र एशियन कण्टिनेण्टलमा समेत सहभागीता जनाउने छन्। शीर्ष ३ स्थानमा अटाउने खेलाडीले आगामी वर्ष हुने २५ औं खुल्ला तथा १० औं महिला राष्ट्रिय प्रतियोगितामा सहभागीता सुनिश्चित गर्नेछन् भने बाकी सबैले पुन: नेशनल बी मा प्रतिस्पर्धा गर्नुपर्नेछ।
२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको कूल अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ । उक्त खर्च व्यवस्थापनका लागि विभिन्न कर्पोरेट हाउस, खेलकुदका अभिभावकीय निकाय, स्थानीय तह र अन्य दाता एवं सहयोगी संघ संस्थाहरु संग समन्वय गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जनको सभापतित्वमा शुरु भएको पत्रकार सम्मेलनमा उठेका जिज्ञासा बारे सम्बोधन गरेका थिए। यस्तै कार्यकम संयोजक दिपेन राईले प्रेस विज्ञप्ति वाचन गरेर सुनाएका थिए।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारले सञ्चालन गरेको कार्यक्रममा फिडे डेभलपमेन्ट कमिसन सदस्य तथा लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष सुबोध सेर्पालीले आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने राष्ट्रिय खेलकुद परिषद, दिव्यान्स मल्टी ट्रेड कम्पनी, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि., ग्लोबल आइएमई बैंक, नेपाल टेलिकम, प्रभु बैंक, लगायतको प्रायोजन रहेको जानकारी गराएका छन् । टुर्नामेन्ट डाइरेक्टर समेत रहेका सेर्पालीको अनुसार नेशनल चेस च्याम्पियनसिप २०८१ र ४५ औं चेस ओलम्पियाड छनौटको प्रमुख निर्णायकमा मनोज घिमिरे रहेका छन ।
0 Comments