२२ जेष्ठ , काठमाडौं। जीत हारको सिलसिला जारी निकै रोचक बन्दै गएको २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सातौं चरणको खेल सम्पन्न हुँदा युवा १६ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवालले .५ अंकको स्पष्ट अग्रता लिन सफल भएका छन्। सिलवालले छैटौं चरणमा सिएम मिलन लामालाई पराजित गरेका थिए भने सातौं चरणको खेल सुशील चौधरी संग हार्न पुगेका छन्। उनले पाँच जीत र दुई हार परिणाम आत्मसाथ गर्दै ५ अंकका साथ एकल अग्रता बनाउन सफल बनेका छन्।
नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी राष्ट्रिय प्रतियोगिताको संयुक्त तथा स्थानीय व्यवस्थापन जिम्मा पाएका लुम्बिनी इभेण्ट म्यानेजमेण्टको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल पस्कन सफल झापाका राजन सुवेदीले झापा कै प्रकाशचन्द्र नेपाल संग समान ४.५ अंक जोडेर संयुक्त दोश्रो स्थानमा उभिएका छन्।
नयाँ नेपाल च्याम्पियन बन्ने सपना बुनेका राजनले छैटौं चरणमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल सित हार ब्यहोर्दा सातौं चरणको खेल पूर्व च्याम्पियन केशब श्रेष्ठ सित बराबरी खेलेका छन्। प्रकाशचन्द्र नेपालले छैटौं चरणमा राजीव कार्कीलाई हराए भने सातौं चरणको खेल क्षितिजसंग बराबरी खेलेका छन्।
हंगेरीको बुढापेष्टमा सेप्टेम्बर ९ देखि २३ सम्म ४५ औं चेस ओलम्पियाड हुने तय भए पश्चात् राष्ट्रिय खेलवाट ३ जना खेलाडी छनौट हुन गइरहेको छ। शीर्ष तिनमा आफुलाई उभ्याउन शिर्षस्थ खेलाडी सुशील चौधरी, एआईएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी ४/४ अंक बनाएर मजबुत सम्भावना कायम राखेका छन्। यीनिहरु संयुक्त तेस्रो स्थानमा छन्।
शीर्ष १२ जना राष्ट्रिय खेलाडीहरु बिच ११ चरणको राउण्ड रोविन खेल मध्ये अब ४ चरण बाकी हुदा काठमाडौंका प्रेमकृष्ण महर्जन ३.५ अंकमा छन्। त्यस्तै प्रतिष्ठाको लडाइँमा वर्तमान च्याम्पियन रुपेश जैसवाल ३ अंक, सुरोज महर्जन, मिलन लामा र राजीव कार्की समान साढे २ अंक र केशब श्रेष्ठ २ अंकमा सिमित बनेको छ।
सिन्दिरा जोशी र शान्ति धिमाल अगाडि
९ औं राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको सातौं चरण सम्म पुग्दा पूर्व वुमन नेपाल च्याम्पियन सिन्दिरा जोशी र शान्ति धिमालले ६/६ अंक प्राप्त गर्दै संयुक्त अग्रता कायम गरेका छन्। मोष्ट वीनको आधारमा काठमाडौंका सिन्दिरा जोशीले ६ जित दर्ता गराएका छन् भने मोरङका शान्ति धिमाल अपराजित रहँदै ५ जीत दुई बराबरी नतिजा निकालेका छन्।
महिला टिममा चार खेलाडी ओलम्पियाडमा छनौट हुन घम्साघम्सि गरिरहेका पूजा भण्डारी र कृतिसरा अधिकारी दुबैको ५/५ अंक रहेको छ। कास्की जिल्लाका पूजा र झापा जिल्लाका कृतिसराले समान ५ जीत दर्ता गर्दै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।
त्यसैगरी काठमाडौंका बिनिता कपाली, शुशीला गुरुङ र झापाका पुनम प्रसाईं समान ३.५ अंक बनाएर झिनो आशामा खेललाई निरन्तर जारी राखेका छन्। भक्तपुर जिल्लाका अंशुदिल प्रजापति, सबिना गुज: , प्राश्ना किबानायो र श्रेषा दुवाल अन्तिम चारमा रहन बाध्य बनेका छन्।
विश्व बुद्धिचाल महासंघको डेभलपमेन्ट कमितिका सदस्य तथा लुम्बिनी इभेण्ट म्यानेजमेण्टका अध्यक्ष सुबोध सेर्पालीले आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रोपर्टी म्यानेजमेन्ट प्रालि, ओक क्वालिटि फाइबर ग्याँस एण्ड ग्रील मेटल प्राली, प्रभु बैंक, ग्लोबल आईएमइ बैंक, नेपाल बैंक , रुकुमिणी टुर्स एण्ड ट्राभल्स सहयोगीको साथ रहेको जानकारी गराएका छन्।
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक दिपेन राईले भोलि दुई चरण र जेष्ठ २४ गते अन्तिम चरणको खेल पश्चात् होटल ले हिमालयमा पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जानकारी गराएका छन्।
0 Comments