विद्यालय शिक्षाको फलामे ढोका मानिने एसइई परीक्षाको नतिजा यो वर्ष नराम्ररी खस्कियो। आधाभन्दा धेरै विद्यार्थी त अनुत्तीर्ण नै भए। यसरी नतिजा खस्कनुमा यस वर्ष अपनाइएको अक्षरांकन पद्धतिलाई दोष लगाइएको छ।
यो त बाहाना मात्रै रहेछ ! पढाइ नै अब्बल भएपछि उत्कृष्ट नतिजा ल्याउन कुनै पनि पद्धतिले नछेक्ने रहेछ। यसको उदाहरण बनेको छ, दुर्गम हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ मा.वि.। सधैँ झैँ विद्यालयले यो वर्ष पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। मेलम्ची घ्याङका १५ विद्यार्थी ‘ए’ प्लस र १२ ‘ए’ सिजिपिएस सहित एसइई उत्तीर्ण भएका छन्।
मेलम्ची घ्याङले एसएलसीसहित एसइई परीक्षामा सहभागिता जनाउन थालेको १७ वर्ष भयो। उसले शतप्रतिशत नतिजा ल्याएको पनि यो १७ औँ नै पटक हो।
‘१७ वर्षदेखि लगातार शतप्रतिशत नतिजा ल्याउन सफल भएको छौँ,’ पूर्वप्रधानाध्यापक रहेका विद्यालयका शिक्षक पूर्ण गौतमले नतिजापछि सामाजिक सञ्जाल मार्फत हामीलाई जानकारी दिनुभयो ।
हिउँमा कठ्याङ्ग्रिँदै, बादलभित्र लुकेर पढेकी विदुषा नेपाल विद्यालय प्रथम भइन्। उनले ३.९१ सिजिपिएस ल्याइन्। उनी जिल्लाकै इन्द्रावती गाउँपालिकाकी हुन्। सिन्धुलीदेखि पढ्न आएकी थिङरिला तामाङले पनि ‘ए’ प्लस ल्याइन्।
हाल खोटाङ, ओखलढुंगा, मोरङ, सोलुखुम्बु, स्याङ्जा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, दोलखा, नुवाकोट लगायतका जिल्ला सहित ३ सय २० विद्यार्थी विद्यालयको होस्टेलमा बसेर पढिरहेका छन्।
ह्योल्मो संस्कृति, रहनसहन र भाषासमेत सिकाइने विद्यालयको वातावरण पढूँ–पढूँ लाग्ने खालको छ। कक्षा एक–पाँचसम्म ऐच्छिक विषयको रुपमा तिब्बती भाषा पढाइन्छ। साढे तीन दशकअघि सुन्दर हेलम्बु घुम्न निस्किएका गौतमले नै एउटा घरको बरण्डाबाट यो विद्यालय सञ्चालनमा ल्याएका थिए।
गौतम दुई वर्षपछि अनिवार्य अवकाशमा जाँदै छन्। त्यही भएर नेतृत्व सीप हस्तान्तरण गर्न उनले टिकाराम लिम्बुलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएका छन्। ‘म गएपछि पनि विद्यालयको शैक्षिक अवस्था खस्कनु भएन नि !’ कारण खुलाउँदै लिम्बुको सहायक बनेर गौतम सिकाइ
रहेका छन्। ।
0 Comments