Breaking News

6/recent/ticker-posts

Header Ads Widget

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता झापामा हुने ।

१ भदाै , मेचिनगर । झापाको काँकरभिट्टा स्थित हाेटल व्यवसायी संघ मेचीनगरकाे सभाहलमा नाइट चेस क्लबले पत्रकार सम्मेलन गरेर छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता बारे जानकारी गराएका छन् ।



भदाै ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने राष्ट्रिय एमेच्योर चेस प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल महासंघकाे रहनेछ। स्थानीय  व्यवस्थापन गर्ने  देखि पुरस्कार रकम २ लाख ८२ हजार सहितकाे सम्पूर्ण जिम्मा आयोजक नाइट चेस क्लबले गर्ने छ ।


नेपाल बुद्धिचाल महासंघका पूर्व पदाधिकारी, क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विश्वविजय घिमिरेले दिएको जानकारी अनुसार प्रतिस्पर्धामा १५० जना खेलाडीले सहभागी जनाउने पक्का भएको छ। यस प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म दुबईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने छ।

मेचि नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजन रहने क्लासिकल बुद्धिचाल प्रतियोगिता रेटिङ १७ सय देखि २ हजार सम्म एउटा विधा र रेटिङ १७ सय मुनि अर्को विधा गरि दुई क्याटेगाेरीमा खेल सञ्चालन हुने छ । दुवै विधाका विजेता देखि १० औं स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।


आयोजक नाइट चेस क्लबका प्रथम उपाध्यक्ष राजु पौडेलका अनुसार विजेताले नगद रु. ५० हजार प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौं देखि दशौं हुने प्रत्येकले जनही ५ हजार हात पार्ने छन्। 


अन्तर्राष्ट्रिय आर्विटर बालाराम पुन प्रमुख निर्णायक रहने निर्णायक मण्डलमा फिडे आर्विटर कोर्स पूरा गरेका सोराज ताम्राकार र सिनियर राष्ट्रिय आर्विटर हरिकृष्ण श्रेष्ठको टिमले प्रतियोगिता सञ्चालन गर्ने छन्। 


क्लबका पूर्व अध्यक्ष बालाजित राई र शेरबहादुर बस्नेतका अनुसार प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित बजेट १८ लाख २२ हजार खर्च हुने जानकारी गराएका छन्। खेलाडीको एकतर्फी यातायात खर्च समेत व्यहोर्ने निर्णय भएको बताउदै स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयाेग उठाउने तयारी गरिएको बताइएका छन् ।


छैटौं राष्ट्रिय एमेच्योर प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले र समापन काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले गर्ने क्लबले जनाएको छ । पत्रकार सम्मेलन क्लबका महासचिव राजेश राउतले गरेका थिए ।

Post a Comment

0 Comments