Breaking News

6/recent/ticker-posts

Header Ads Widget

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता पहिलो चरणमा १२ खेलाडीको जीत

१ भदाै , मेचिनगर । नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा शुक्रबारवाट छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। प्रतिस्पर्धामा विभिन्न जिल्लाका ९० जना राष्ट्रिय खेलाडी सहभागी भएका छन्। 



       काँकडभिट्टा स्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिन सम्म चल्ने चेस खेलमा समूह क अन्तर्गत २ हजार रेटिङ्ग मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी र समूह ख अन्तर्गत १७ सय रेटिङ्ग मुनिका ६४ जना खेलाडीहरुले सहभागीता जनाएका छन्।  



       प्रतियोगिताका निर्देशक भरत गुरुङको रेखदेखमा सम्पन्न पहिलो चरण समूह ‘क’ को खेलमा १२ जना खेलाडीहरुले जितको स्वाद प्राप्त गरेका छन्। पहिलो वोर्डमा कालोगोटीले खेलेका पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले आयोजक क्लबका अध्यक्ष विश्वविजय घिमिरे माथि जीत दर्ता गरेका छन्। 



         मेचि नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजनमा सञ्चालन भएको दोश्रो वोर्डमा पूर्व एमेच्योर च्याम्पियन सिएम कृष्ण थापाले उमेश राईलाई पराजित गरेका छन्। अन्य खेलमा निलम बस्नेतले अप्रत्याशित नतिजा निकाल्दै आफू भन्दा उच्च रेटेड सुरज महर्जन माथि कठिन विजय हासिल गरेका छन्। यस्तै आशिष् फूँयालले ललित बहादुर राईलाई, प्रेम लिम्बुले राजेन्द्र राईलाई, वसन्त लामाले सुमन श्रेष्ठलाई र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले बल बहादुर तामाङलाई हराएर समान एक एक अंक जोडेका छन्। 



       यता समूह ‘ख’ अन्तर्गतको प्रतिस्पर्धामा २७ जना खेलाडीहरुले पहिलो चरण पार गर्न सफल भएका छन्। कृष सबेङहाङ्गले पहिलो चरणको पहिलो वोर्डमा शीर्ष खेलाडी राजन पहाडी माथि जीत हात पार्दै पञ्छाउन सफल बने। कृष सँगै रञ्जित राई, एसिएम कृजन महर्जन, पवन पौड्वाल, गोविन्दमान श्रेष्ठ, अविरल राई, राजकुमार वान्तवा, क्षितिज लिम्बु, रोशन खड्गी लगायत खेलाडीले समान एक एक अंक जोडेका छन्।



     भदाै ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने राष्ट्रिय एमेच्योर चेस प्रतियोगितामा दुवै समूहका शीर्ष दशौं स्थान प्राप्त गर्ने खेलाडीहरुलाई कूल पुरस्कार रकम २ लाख ८२ हजार प्रदान गरिनेछ। साथै प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म दुबईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराइने छ।


      खेल पूर्व प्रतियोगिताको उदघाटन गर्दै मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले देशको पूर्वीय भेगले कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको स्मरण गराउदै बुद्धिचाल खेलमा राजन सुवेदी वर्तमान नेपाल च्याम्पियन भएको उल्लेख गरेका छन्। 


       मेयर गोपाल चन्द्र बुढाथोकीले खेलाडीले प्राप्त गर्ने पुरस्कार रकममा नगरपालिकाले हातेमालो गर्ने प्रतिबद्धता जनाए। प्रतियोगितामा पहिलो हुनेले नगद पुरस्कार रु. ५० हजार प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौं देखि दशौं हुने प्रत्येकले जनही ५ हजार हात पार्ने छन्। 


      क्लबका पूर्व अध्यक्ष बालाजित राई र शेरबहादुर बस्नेतका अनुसार राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित बजेट १८ लाख २२ हजार खर्च हुने जानकारी गराएका छन्। छैटौं राष्ट्रिय एमेच्योर चेस खेल एफए कोर्स पूरा गरेका निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेका छन्। 

Post a Comment

0 Comments