व्यक्तिगत एकतामा इन्ट्रेस्ट, बाम एकतामा एलर्जी

२०७४ सालमा अकस्मात नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच आपसी सहकार्य भई संसदीय निर्वाचनमा साझा उम्मेदवार बनाएको र पछि पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी–नेकपा गठन गरेको घटनापछिका दृश्यहरू स्पष्टै छ ।

__________ बिज्ञापन____________

 

नेकपाकालीन पार्टी पूर्ण रुपमा एकता नहुँदै अदालतले समेत एमाले र माओवादीलाई फरक फरक बाटोमा जान बाध्य बनाएको घटनाले त आगामी दिनमा कम्युनिष्ट एकताको कुरा नै उठाउनु पर्दैन कि भन्नेसम्मका अविश्वास पैदा भएका छन् । अदालतको आदेशले माओवादी र एमालेलाई मात्र अलग गरेन, त्यसैको रापतापले एमालेलाई समेत फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बन्ने स्थिति सिर्जना गरायो ।

 

त्यसयता कम्युनिष्ट पार्टी, घटकहरू मिलेका बिरलै घटना छन् । यद्यपि, अर्ध भूमिगत नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको पार्टी पनि अब संसदीय राजनीतिलाई उपयोग गर्ने भन्दै चुनावतिर लम्केको छ । बिप्लवलाई मूलधारमा ल्याएर अर्धभूमिगत जीवनबाट बाहिर ल्याउनमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वदायी भूमिका नभएको होइन ।

 

कम्युनिष्ट एकता अभियान नाम दिएर खुलेको बामदेव गौतम नेतृत्वको घटक एमालेतिर जाने कि नेकपा एकीकृत समाजवादीतिर जाने भन्ने कुरा बीच बाटामै हराएको छ । समाजवादीतिर जाने अन्तिम तयारी भइरहँदा ओलीले एमालेतिरको बाटो खोलेकाले दोधार भएका गौतम अहिले फेरि दुबै पार्टीसँग उतिसारो सन्तुष्ट छैनन् । एकताको भजन गाइरहँदा बामदेव एमालेमा गए पनि, समाजवादीमा गएपनि खासै अर्थ छैन भन्नेहरू नभएका होइनन् । संगठन निर्माणको लामो अनुभव बोकेका उनको क्षमता अहिलेको एआई दुनियाँमा खासै काममा आउनेखाले छैनन् भन्ने बिश्लेषण छ ।

 

उता अर्काेतर्फ माओवादी केन्द्र र समाजवादी पार्टीबीच एकता हुने हल्ला पनि बेला बेला आउँछ । जसरी आउँछ त्यसैगरी सेलाउँछ पनि । यदि माओवादी र समाजवादी एकता भएमा समाजवादीतर्फका ७० प्रतिशत नेता, कार्यकर्ता एमालेमै फर्कनेछन् भन्ने विश्वास गरिन्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायत समाजवादी छाड्न तयार रहेको भन्ने समाचार सार्बजनिक भएको पनि निकै लामो भैसक्यो । एमालेका नेताहरू खासगरी अध्यक्ष केपी शर्मा ओलीको एउटै बोली छ–यो पार्टीमा माधव नेपालबाहेक सबैलाई स्वागत गर्न सकिन्छ ।

 

कुनैबेला मित्रवत् व्यवहार गरेर एकै गुट बनाएका नेपाल र ओलीको यो हदको तिक्तताले पनि कम्युनिष्ट एकतालाई अल्झाएको छ । त्यसो त जोडबल लगाउँदै काँग्रेस र माओवादीले फुटाएर बनाएको समाजवादीलाई प्रधानमन्त्री पद प्राप्त हुनासाथ छाडिदिने पुरानै बानी माओवादी अध्यक्ष प्रचण्डले दोहोर्‍याउन छाडेका छैनन् । यतिखेर सत्ताबाट निकै पर पुगेका प्रचण्डलाई फेरि शक्ति आर्जन गर्नका लागि माधव नेपाल साथमै नराखी भएको पनि छैन ।

 

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनमा प्रमुख वक्ता थिए एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल । चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा बोल्न आएका पोखरेलको भनाई थियो–बाम एकता भनेर भावनामा कोही पनि नबगौं । दक्षिणपन्थी शक्तिसँग मिलेर वामशक्तिलाई सत्ताच्युत गर्नेहरूलाई वामपन्थी पनि भन्ने कि नभन्ने ? उनीहरूसँग कुरा गर्न कि नगर्ने ? अथवा संस्थागत रुपमा उनीहरूसँग विगतमा माओवादीसँग गरे झैँ एकता गर्ने कि नगर्ने ? यस्ता कुरामा एमाले अल्झन नचाहेको पोखरेलको स्पष्टोक्ति थियो । यसको मतलव व्यक्तिगत रुपमा आउने जोकोहीसँग एकता हुन्छ, तर पार्टी र समूहगत रुपमा एकता गरेर वामशक्ति बनाउन अहिले नै एमाले तयार छैन । अघिल्लो दिन त्यस्तो मन्तब्य दिएका पोखरेलले सोमबार मकवानपुरको हेटौँडामा पुगेर एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य शिवहरि बर्ताैलासहित २ दर्जनलाई खादा लगाई स्वागत गरेका छन् ।

 

– शिवकुमार काशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन