यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ । कक्षा १० मा लिइने वार्षिक परीक्षालाई अहिले एसइई भनिन्छ। यसअघि यो परीक्षालाई एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) भनिन्थ्यो ।
पहिलो पटक १९९० सालमा ३४ जना परीक्षार्थीबाट सुरु भएको एसएलसी अहिले एसइईले चिनिन्छ । देशभरि बिहीबारदेखि सुरु हुने यो परीक्षा ९१औं शृंखला हो ।
यो वर्ष एसइईमा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन्। जसमध्ये नियमिततर्फ चार लाख २१ हजार पाँच सय ८५ जना छन् । राष्ट्रिय परीक्षा बोर्ड एसइईका सहनियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले एसइईका कुल परीक्षार्थी गत वर्षभन्दा दुई हजारजतिले कम छन् । गत वर्ष एसइईका कुल परीक्षार्थी पाँच लाख १६ हजार थिए ।
चैत १९ गतेसम्म सञ्चालन हुने एसइईमा देशभरिका ११ हजार २१६ माध्यमिक विद्यालयका परीक्षार्थी सहभागी हुने सहनियन्त्रक निरौलाले जानकारी दिए। परीक्षा सञ्चालन गर्न दुई हजार ८० केन्द्र निर्धारण गरिएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन ७७ हजार ८१७ जनशक्ति परिचालन गर्ने निर्णय बोर्डले गरेको उनले बताए।
‘एसइईको तयारी पूरा भएको छ। उत्तरपुस्तिका छापेर केन्द्रहरूमा पुऱ्याइएको छ । प्रश्नपत्र पनि सम्बन्धित केन्द्रनजिकै सुरक्षाकर्मीको घेरामा राखिएको छ,’ निरौलाले भने, ‘३४ परीक्षार्थीबाट सुरु भएको एसएलसी/एसइई दिने विद्यार्थी अहिले पाँच लाख हाराहारी पुगे का छन्।’ उनका अनुसार यो वर्ष नियमिततर्फ एसइई दिने चार लाख २१ हजार पाँच सय ८५ परीक्षार्थीमध्ये दुई लाख नौ हजार सात सय पाँच छात्रा र दुई लाख ११ हजार आठ सय ५७ छात्र छन् ।