बिर्तामोड, झापा — जेठ ३ गते । बिर्तामोड चेस क्लबको आयोजनामा तथा किरात याक्थुङ चुम्लुङको सहआयोजनामा झापाको बिर्तामोड सिटी सेन्टरमा जारी “उभौली पर्व प्रथम राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता” को दोस्रो दिन सम्पन्न पाँचौं चरणका खेलपछि नेपाल च्याम्पियन फिडे मास्टर (FM) रुपेश जैशवाल ५ अंकसहित एकल अग्रता लिन सफल भएका छन्।
चौथो चरणमा झापाका सुमन श्रेष्ठलाई पराजित गरेका जैशवालले पाँचौं चरणमा पूर्व नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर (CM) पुरुषोत्तम चौलागाईंमाथि संघर्षपूर्ण जित हात पारेका थिए।
यसैबीच, झापाका पूर्व च्याम्पियन राजन सुवेदी, प्रकाश नेपाल, पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई ४.५ अंकसहित संयुक्त दोस्रो स्थानमा उभिएका छन्।
राजनले चौथो चरणमा आयोजक क्लबका ज्वाला लिम्बुलाई हराएका थिए भने पाँचौं चरणमा प्रकाश नेपालसँग बराबरी खेले। प्रकाशले चौथो चरणमा मोरङका लोकसागर साम्बालाई पराजित गरेका थिए।
युवा प्रतिभा रिसोन थापा पाँचौं चरणसम्म अपराजित रहँदै चौथो चरणमा पूर्व च्याम्पियन नवीन तण्डुकारलाई र पाँचौं चरणमा ललितपुरका राजन पुरीलाई पराजित गर्न सफल भए।
राजेन्द्र राईले चौथो चरणमा झापाका विक्रम जीत लिम्बुसँग बराबरी खेले भने पाँचौं चरणमा ललितपुरका सुरज महर्जनलाई पराजित गरे।
त्यसैगरी, ४ अंक प्राप्त गर्ने खेलाडीहरूमा CM पुरुषोत्तम चौलागाईं, सुमन श्रेष्ठ, खोटाङका धिरेन राई, ज्वाला लिम्बू, राजन कुमार पोखरेल, सुनसरीका हिमाल राई, चुडामणि राई कुलुङ, नवीन तण्डुकार, सुरज राय, मणीराज डाँगी, राज लिम्बू, सचिन कुमार चौधरी र किरण लिम्बू रहेका छन्।
स्वीस लिग प्रणालीमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रू. ५१,०००, उपविजेताले रू. ३५,००० र तेस्रो हुनेले रू. ३०,००० प्राप्त गर्ने छन्। प्रतियोगिताको कुल पुरस्कार राशी रू. ३ लाख ३५ हजार रहेको छ।