काठमाडौं — दृष्टिविहिन बालबालिकाको क्षमता विकास तथा समावेशी खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले चेस प्रतियोगिता हुँदैछ। यही मंसिर २६–२७ (डिसेम्बर १२ र १३) मा पभिलियन्स चेस एकेडेमी र नेपाल त्रिविसा संस्थाले ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी महासंघमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रम मंसिर २७ गते बिहान ११ बजे हुनेछ भने समापन तथा पुरस्कार वितरण मंसिर २८ मा दिउँसो ४ बजे हुनेछ।

पभिलियन्स चेस एकेडेमी र नेपाल त्रिविसाले गत एक महिनादेखि उपत्यकाका विभिन्न विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई विशेष चेस प्रशिक्षण प्रदान गर्दै आएका छन्। प्रशिक्षणमा ट्याकटायल (हातले स्पर्श गरेर खेल्न मिल्ने चेस बोर्ड) प्रयोग, चेसका नियम, रणनीतिक सोच, एकाग्रता तथा आत्मविश्वास विकासजस्ता विषयहरू समावेश गरिएको थियो। कार्यक्रममा ४० भन्दा बढी विद्यार्थी सहभागी भएको आयोजकहरूको भनाइ छ।

चेस प्रतियोगितासँगै ‘स्पर्शको साहस बुद्धिचाल’ (Courage of Touch Chess) नामक कार्यक्रम पनि सञ्चालन हुँदैछ, जसको उद्देश्य दृष्टिविहिन विद्यार्थीलाई बुद्धिचालसँग अझ गहिरो रूपमा जोड्नु हो। यसका साथै मानसिक क्षमताको विकास गर्दै खेलमार्फत दैनिक जीवनमा आवश्यक निर्णय क्षमता र समस्या समाधान कौशल वृद्धि गराउनु लक्ष्य रहेको आयोजकहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गराउन अत्यन्त प्रभावकारी खेल हो। पभिलियन्स चेस एकेडेमीले विगतका वर्षहरूमा सयौँ बालबालिकालाई प्रशिक्षण दिँदै आएको छ र यसमार्फत विभिन्न उमेर समूहका राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिसकेको छ। विद्यालय, अनाथालय, गुम्बा तथा विभिन्न संस्था र समुदायमा बुद्धिचालको पहुँच विस्तारमा यो संस्था सक्रिय रहँदै आएको छ।
त्यस्तै, नेपाल त्रिविसा शिक्षा, सामाजिक सशक्तिकरण, सीप विकास तथा समावेशी विकासका कार्यक्रममार्फत सीमान्तकृत समुदायहरूको हितमा काम गर्दै आएको गैरनाफामूलक संस्था हो।
यस प्रतियोगितामार्फत दृष्टिविहिन बालबालिकालाई बुद्धिचालमार्फत आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गराउने तथा खेलकुदमा दीर्घकालीन अवसर निर्माण गर्न महत्वपूर्ण कदम हुनेछ भन्नेमा आयोजकहरू विश्वस्त छन्।
आयोजकहरूका अनुसार, यो कार्यक्रमले दृष्टिविहिन बालबालिकाको प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्नुका साथै नेपालमा समावेशी खेलकुदका लागि आवश्यक पूर्वाधार, स्रोत–साधन र विशेष प्रशिक्षकको आवश्यकता सम्बन्धी जागरूकता पनि बढाउनेछ।