गल्छि खबर
रैनादेबी छहरा गाउँपालिका, पाल्पा — विद्यार्थी खेलकुदको विकास, प्रतिभा पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा मिति २०८२/०९/१४ गतेदेखि सञ्चालन भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य, सभ्य र पूर्णरूपमा सफलताका साथ सम्पन्न भएको छ। गाउँपालिका स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय तहमा खेलकुदप्रतिको आकर्षण र उत्साहलाई थप उचाइमा पुर्याएको छ।
प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका छात्र–छात्राहरूले एथलेटिक्स, भलिबल, कबड्डी, दौड, उचाइ जम्प, लामो जम्पलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका क्रममा खेलाडीहरूले उच्च अनुशासन, खेल भावना र आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले दर्शक तथा अभिभावकको मन जित्न सफल भयो।
“समग्र पदक तालिका अनुसार महाकाली माध्यमिक विद्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै ८ स्वर्णसहित कुल १६ पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै गंगा माध्यमिक विद्यालयले ५ स्वर्णसहित १३ पदक प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझायो भने भैरव नवदिप माध्यमिक विद्यालयले ४ स्वर्णसहित १४ पदक हात पार्दै तृतीय स्थान हासिल गर्न सफल भएको छ। अन्य सहभागी विद्यालयहरूले पनि आफ्नो क्षमताअनुसार प्रतिस्पर्धा गर्दै खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्।”
प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, शिक्षा क्षेत्रका सरोकारवालाहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक, खेलप्रेमी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समापन समारोहमा विजयी विद्यालय तथा खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै उनीहरूको उत्साहवर्धन गरिएको थियो।
गाउँपालिकाले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यालय परिवारलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ। साथै विभिन्न विधामा पदक प्राप्त गर्ने सम्पूर्ण खेलाडीहरू, प्रतियोगितामा सहभागी सबै विद्यालयहरू, खेल समिति, खेल शिक्षकहरू, प्रधानाध्यापकहरू, कार्यक्रम सञ्चालक, निर्णायक टिम, गाउँकार्यपालिका सदस्यहरू, शिक्षा शाखा, गाउँपालिका कर्मचारी टिम, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।

गाउँपालिकाले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई अझ व्यवस्थित, मर्यादित र निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रकारका खेलकुद गतिविधिले अनुशासित, स्वस्थ र प्रतिस्पर्धी पुस्ता निर्माणमा टेवा पुर्याउने विश्वास लिइएको छ।