काठमाडौं – थापाथली पार्क चेस क्लबको आयोजनामा सम्पन्न भएको दुईदिने राष्ट्रव्यापी र्यापिड १८०० रेटिङ मुनिको बुद्धिचाल प्रतियोगिता मकवानपुरका लोकबहादुर गोलेको उपाधि जितसहित सम्पन्न भएको छ।
१० मिनेट १० सेकेण्ड इन्क्रिमेन्ट समयको तालिका अनुरूप कुल ९ चरणको स्वीस लिग प्रतिस्पर्धामा ५० जिल्लाका दर्जनौं खेलाडीहरूको सहभागिता रहेको थियो।
१७६९ रेटेड लोकबहादुर गोलेले सबै ९ खेल जित्दै पूर्ण अंकसहित उपाधि जितेका हुन्। उनले नगद रु. २० हजार, आकर्षक ट्रफी र गोल्ड मेडल प्राप्त गरे।
भक्तपुरका १८९६ रेटेड दामोदर गाइजुले ७.५ अंक जोड्दै दोश्रो स्थान हासिल गर्दै रु. १५ हजार नगद र सिल्भर मेडल प्राप्त गरे।
तेस्रो स्थान आयोजक क्लबकै १६९४ रेटेड फुर्वा लामाले ७ अंकसहित ५२.५ टाइब्रेक प्वाइन्टको आधारमा प्राप्त गर्दै रु. १० हजार र ब्राँज मेडल हात पार्न सफल भए।
त्यस्तै, काठमाडौंका हेमराज भण्डारी (१७८४) ५०.५ टाइब्रेक प्वाइन्टसहित चौथो स्थानमा रहेर रु. ७ हजार जिते। चेस पार्कका राम तामाङ (१६८१) पाँचौँ भए भने स्याङ्जाका सुशील सुवेदी (१७८२), काठमाडौंका अनरेटेड अभिषेक श्रेष्ठ, रमेश बीर माली (१७९४), बाराका निर्मल सापकोटा (१७७२) र रुकुमका मिलन रोक्का (१७७०) क्रमशः छैटौँदेखि दशौँ स्थानमा रहेर जनही रु. ४/४ हजार नगद पुरस्कार प्राप्त गरे।
विविध विधामा प्रदर्शन गरेका थप १७ खेलाडीलाई विधागत पुरस्कार प्रदान गरिएको थियो।
महिला वर्गमा झापाकी पुनम प्रसाईं ५ अंकसहित प्रथम भइन्। काठमाडौंकी बिनिता कपाली र सिन्दिरा जोशी समान ४.५ अंकसहित क्रमशः दोस्रो र तेस्रो भइन्।
अनरेटेड खेलाडीमा काठमाडौंका गौरव नेपाल, कास्कीका सुजन रानाभाट र दाङका बेदु सरुमगर उत्कृष्ट घोषित भए।
श्रेष्ठ सिनियर खेलाडीको उपाधि काठमाडौंका डिबि कार्कीले प्राप्त गरे भने उत्कृष्ट स्थानिय खेलाडी थापाथली क्लबकै भाईराजा प्रजापति घोषित भए।
युवा तर्फ १०, १२, १४ र १६ वर्ष उमेर समूहमा छात्रतर्फ साहस श्रेष्ठ (ललितपुर चेस एकेडेमी), हार्दिक पन्त (पेभेलियन चेस एकेडेमी), अग्रिम शैंजू (पाल्पा) र सजल न्यौपाने (सिन्धुपाल्चोक) उत्कृष्ट भए। छात्रा वर्गमा ग्लोसी श्रेष्ठ (ललितपुर), विपाशना केसी (काठमाडौं), नेलिशा ओझा (पेभेलियन) र यशस्वी शर्मा (भक्तपुर) विजयी घोषित भए।
प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजू रहेका थिए।
प्रतियोगिता थापाथली पार्क चेस क्लबका अध्यक्ष तथा संयोजक सानुराज बज्राचार्यको सक्रियतामा सम्पन्न भएको हो। समापन समारोहमा माओवादी केन्द्रका नेता देव गुरुङ, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ ‘बोस’, लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन्द्र महर्जनलगायतको उपस्थिति थियो।