काठमाडौं, १४ वैशाख – नेपालभरि लामो समयदेखि जारी शिक्षक आन्दोलनमा आज प्रहरीद्वारा बल प्रयोग भएपछि आन्दोलन थप चर्किएको छ। शिक्षा ऐन संशोधनको माग गर्दै २५ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका लाखौं शिक्षकहरू अहिले थप आक्रोशित बनेका छन्।
राज्यले शिक्षा ऐन तीन वर्षभित्र ल्याउनुपर्ने संवैधानिक दायित्वलाई १० वर्षसम्म पनि पुरा नगरेपछि शिक्षकहरूले पटक–पटक सानोतिनो आन्दोलन गर्दै आएको इतिहास छ। तर पटकपटक गरिएको सम्झौता कार्यान्वयन नभएको र राज्यको उदासीनताको कारण यसपटकको आन्दोलन व्यापक र लामो भएको हो।
शिक्षकहरूले विद्यार्थीहरूलाई कुनै बाधा नपर्ने गरी आन्दोलन सञ्चालन गरिरहेकै बेला राज्यले समयमै सम्बोधन गर्नुको सट्टा आन्दोलनलाई ठट्टामा उडाउँदै बेवास्ता गर्यो। सर्वोच्च अदालतले समेत तीन दिनभित्र समस्या समाधान गर्न आदेश दिएको भए पनि सरकार गम्भीर नबनेपछि आज आन्दोलनमा प्रहरी हस्तक्षेप गरिएको छ। प्रहरी बलको प्रयोगले कैयौं शिक्षकहरू घाइते भएका छन्।
“शिक्षक एउटा मर्यादित पेशाको प्रतिनिधि हुन्, संयमता र शान्तिको पाठ सिकाउने जिम्मेवारी उनकै हो। तर जब अत्याचारको सीमा नाघ्छ, तब प्रतिरोध अपरिहार्य हुन्छ,” आन्दोलनरत शिक्षकहरूको भनाइ छ।
महाभारतको सन्दर्भ दिँदै उनीहरूले भनेका छन्, “भगवान श्रीकृष्ण स्वयं शान्तिदूत बनेर पाँच गाउँ माग्न दुर्योधनकहाँ पुगेका थिए। तर जब दुर्योधनले घमण्डका कारण एउटा सियो अट्ने ठाउँसमेत दिन अस्वीकार गरे, तब धर्मको पक्षमा युद्ध अपरिहार्य भएको थियो। आजको हाम्रो अवस्था पनि त्यसैजस्तै भएको छ।”
शिक्षकहरूले प्रहरीहरूसँग संघर्ष गर्ने कुनै चाहना नभएको तर शान्तिपूर्ण आन्दोलनमा दमन हुँदा चुप लागेर बस्न नसकिने चेतावनी दिएका छन्। उनीहरूले शिक्षक एकताको बलमा आन्दोलनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आजको घटनामा घाइते भएका सम्पूर्ण शिक्षकहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनकारीहरूले आगामी दिनमा अझ बढी एकताबद्ध र सशक्त संघर्ष गर्ने घोषणा गरेका छन्।