भक्तपुर, जेष्ठ १० – भक्तपुर युवा टिमको आयोजनामा सम्पन्न स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि र्यापिड चेस प्रतियोगिताको उपाधि भारतका बिनायक सिं यादवले जितेका छन्। १२७ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको प्रतियोगितामा यादवले नेपालका मुहान नरसिंहसँग समान ८ अंक जोड्दै प्रोग्रेसिभ टाई ब्रेकमा ५१ अंकसहित विजेता बनेका हुन्। नरसिंहले ४७ प्रोग्रेसिभ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए।
विजेता यादवले ट्रफीसँगै नगद २५ हजार रुपियाँ हात पार्दा, उपविजेता नरसिंहले नगद १५ हजार प्राप्त गरे। काठमाडौंबाट सहभागी प्रेमकृष्ण महर्जनले एकल ७.५ अंकसहित तेस्रो स्थान हासिल गर्दै १० हजार नगद जिते।

त्यस्तै, सात अंक जोड्ने कमल श्रेष्ठ चौथो हुँदै ८ हजार, रिसोन थापा छैटौं हुँदै ६ हजार रुपियाँ पुरस्कार हात पार्न सफल भए। अन्य उत्कृष्ट ९ अंकधारीहरूमा प्रकाशचन्द्र नेपाल, राजन पुरी, भारतका आशुतोष कुमार, र कान्तिपुर चेस क्लबका डसबि कार्की रहेका छन्, जसले क्रमशः नवौं स्थानमा रही पाँच–पाँच हजार नगद जिते। धिरेन राईले ६.५ अंकसहित दशौं स्थान ओगट्दै पाँच हजार प्राप्त गरे।
विधागत उपाधि विजेता:
उत्कृष्ट भक्तपुर जिल्ला: निकेन कुसाथा
उत्कृष्ट भक्तपुर नगर: प्रथम पुरुषोत्तम दुवाल, द्वितीय गणेशमान दुवाल
उत्कृष्ट अनरेटेड: कैलाश शरण अशोक पण्डित
सिनियर: अशोकमोहन श्रेष्ठ
महिला: कुशुम घिसिङ
१९०० मुनि: सिएम भगवती प्रसाद शर्मा
१७०० मुनि: राजेन्द्र राई
युवा (१६ वर्षमुनि): सजल न्यौपाने
१४ वर्षमुनि: प्रत्युस श्रेष्ठ
१२ वर्षमुनि: सात्विक मान तुलाधर
१० वर्षमुनि: हृदय बस्नेत
समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाइँ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासंघका प्रवक्ता राजु ताम्राकार, केन्द्रीय सदस्य निरञ्जन प्रजापति, तथा काजकिस्तानका प्रशिक्षक बख्तियार अस्कोरभ लगायतको उपस्थिति रहेको थियो।