१४ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सञ्चालन भएको “शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरब्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२” को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।
प्रत्येक वडावाट ३ जना खेलाडी समावेश भई टिमको जितमा म्याच प्वाइन्ट २ तथा बराबरीमा म्याच प्वाइन्ट १ प्राप्त गर्ने नियम रहेको स्पर्धामा महानगरका २० वटा वडाले सहभागी जनाइरहेका छन्।
खेलमा वडा नं. ७ र वडा नं. २५ ले तीनै खेलमा जीत गर्ता गर्दै संयुक्त म्याच प्वाइन्ट ६-६ जोडेर अग्रस्थानमा रहन सफल बनेका छन्।
प्रतिस्पर्धाका तिन चरण खेल सम्पन्न पश्चात वडा नं. ७ को पहिलो वोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३, दोश्रो वोर्डमा सिएम भगवती प्रसाद शर्मा ३ र तेस्रो वोर्डमा सजल न्यौपाने ब्यक्तिगत २ अंक जोडेका छन्।
त्यस्तै, वार्ड नं. २५ को पहिलो वोर्डमा हिराकाजी श्रेष्ठ ३, एफएम रिजेन्द्र राजभण्डारी १ र रिया श्रेष्ठले ब्यक्तिगत ३ अंकको योगदान गरेका छन् ।
प्रतियोगितामा वडा नं. २७, वडा नं. ३, वडा नं. १ र वडा नं. २४ ले समान म्याच प्वाइन्ट ५-५ बनाउदै संयुक्त दोश्रो स्थानमा अट्न सफल भएका छन्।
वार्ड नं. २७ का खेलाडी राजेन्द्र बज्राचार्य २ दशमलब ५, महेश्वर लाल डंगोलले ३ र बिनिता कपालीले ब्यक्तिगत २ अंकको योगदान पुर्याएका छन्।
यस्तै वार्ड नं. ३ का जेनिश तामाङले २ दशमलब ५, डि. बि. कार्कीले २ र अभिनव पाण्डेले ३ अंकको ब्यक्तिगत योगदान गरेका छन्।
वार्ड नं. १का विजेश राजकर्णीकारले २, बुद्धि राजकर्णीकारले २ दशमलव ५ र हर्ष बर्धन राठीले ३ अंकको ब्यक्तिगत योगदान पुर्याउदै टिमलाई महत्वपूर्ण स्थानमा राखेका छन्।
वार्ड नं. २४ का बद्रिलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २ दशमलब ५ र स्पर्श सरावगीले ब्यक्तिगत १ अंकको योगदान गरेका छन्।
२२ वडाका जनआन्दोलन सहिद सुरोज शाक्यका नाममा सञ्चालन भएको प्रतियोगिताका विजेताले नगद रु. ५० हजार, उपविजेताले ३५ हजार, तृतीय हुनेले २५ हजार र चौथो हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्नेछ।
यसै गरि ब्यक्तिगत विधा तर्फ प्रत्येक वोर्डका उच्च अंक प्राप्त गर्ने तीन जना खेलाडीले जनही नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
यसविच काठमाडौं महानगरपालिका वडा नं. २२ का चर्चित वडा अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरज शाक्यका आमा श्रीमती कुलदेवी शाक्यले संयुक्त रुपमा चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरेका छन्।
कार्यक्रमका सभापति समेत रहेका वडा अध्यक्ष चिनिकाजी महर्जनले शुभकामना मन्तब्यमा समग्र खेल क्षेत्रलाई बिकास गर्न महानगरका वडाहरुलाई उत्प्रेरणा मिलोस् भनी बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताएका छन्।