ल्हेन्देखोलाको बाढीले गल्छीको सोतीफाँटमा ठुलो क्षति, १५ करोड बराबरको नोक्सानी

गल्छी (धादिङ) — नेपाल–चीन सीमा नाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीको असर धादिङ जिल्लासम्म पुगेको छ। ल्हेन्देखोलाबाट आएको बाढी त्रिशूली नदीमा मिसिएपछि जलप्रवाह अत्यधिक बढ्दा गल्छी गाउँपालिका–१ स्थित सोतीबट्टार फाँटमा ठूलो क्षति पुर्‍याएको हो।

__________ बिज्ञापन____________

 

बाढीले सोतीफाँटका झण्डै ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगाएको छ। बाढीको कारण स्थानीय कृषक कृष्णप्रसाद खतिवडाले सञ्चालन गर्दै आउनुभएको खतिवडा एकीकृत कृषि तथा पशुपंक्षी फर्म (कालिज फर्म) पूर्ण रूपमा ध्वस्त भएको छ। करिब १५ रोपनी जमिनमा १ करोड २५ लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको फर्मका सम्पूर्ण भौतिक संरचना बगाएको खतिवडाले जानकारी दिनुभयो।

 

त्यस्तै, नमराज खतिवडा, विश्वराज खतिवडा, तोपकुमारी खतिवडा, विष्णुप्रसाद खतिवडा र सितादेवी खतिवडाको करिब ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन तथा त्यसमा लगाइएको मकै बालीसमेत बाढीले बगाएको छ। “अहिले पनि त्रिशूलीले खेत कटान गरिरहेको छ, अब हामी सुकुम्बासी हुने अवस्थामा छौं,” एक पीडित कृषकले गहभरी आँसु पार्दै भन्नुभयो।

 

स्थानीयका अनुसार सो क्षेत्रको प्रति रोपनी जग्गाको औसत मूल्य ३० देखि ३५ लाख रुपैयाँ पर्छ। त्यसअनुसार, सोतीफाँट क्षेत्रमा मात्रै करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। नदी पूरानो धार छाडेर सिधै खेती भएको जमिनतर्फ पस्न थालेपछि स्थायी क्षति भएको स्थानीयको भनाइ छ।

 

“विदेशमा भए यस्तो जमिन फर्काउने योजना बन्न सक्थ्यो, तर यहाँ त्यसको सम्भावना देखिँदैन,” फर्म सञ्चालक खतिवडाले दुःख व्यक्त गर्नुभयो। उहाँले क्षतिको जानकारी गल्छी गाउँपालिका र बैरनी प्रहरी चौकीमा दिइसकेको भए पनि क्षतिपूर्तिको आशा नगरेको बताउनुभयो। “शान्त्वना बाहेक राज्यबाट केही पाउने सम्भावना देख्दिन,” उहाँको भनाइ छ।

 

गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले पनि त्रिशूली नदीले जमिन कटान गरिरहेको र दृश्य निकै पीडादायक रहेको बताउँदै तत्काल समाधान सम्भव नरहेको बताउनुभयो। पालिकाले मुजुल्का संकलन गरी जिल्ला प्रशासन कार्यालय र दैवी प्रकोप उद्धार तथा राहत समितिमा बुझाइसकेको र अब संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर नदी नियन्त्रणका लागि बजेटको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

यसै बाढीका कारण रसुवा र नुवाकोटमा समेत ठूलो क्षति भएको छ। रसुवागढी भन्सार कार्यालय, रसुवागढी जलविद्युत कम्पनीको ड्याम लगायतका संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवादेखि ३५ किलोमिटर माथि रहेको हिमनदीको बिचमा बनेको हिमताल फुट्दा बाढीको सिर्जना भएको हो। उक्त बाढीमा परी हालसम्म २० जनाभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास