धादिङ — गल्छी गाउँपालिका–८ स्थित प्रसिद्ध छाङ्गेश्वर धार्मिक तथा पर्यटकीय क्षेत्रमा भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली नदीको बहाव बढ्न गई ठूलो क्षतिको सामना गर्न बाध्य भएको छ। भोटेकोशीमा एक्कासी आएको बाढी त्रिशूली नदीमा मिसिँदा नदीको बहाव उच्च हुँदै छाङ्गेश्वर क्षेत्र कटानमा परेको हो।
छाङ्गेश्वर धाम केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, विभिन्न जिल्लाबाट दर्शनार्थी तथा आन्तरिक पर्यटकहरू आउने एक प्रमुख गन्तव्यस्थल पनि हो। विशेषगरी धार्मिक पर्व तथा सार्वजनिक विदाहरूमा यहाँ अत्यधिक भीड लाग्ने गर्छ। तर हालैको बाढीले सो क्षेत्रका पूर्वाधार तथा वातावरणीय संरचना पूर्ण रूपमा तहसनहस बनाएको छ।

स्थानीय समितिहरूका अनुसार क्षतिको विवरण यस प्रकार छ:
१० मिटर लम्बाइका दुईवटा प्लमवाल (पर्खाल) बगाएको छ।
धार्मिक दृष्टिले महत्वपूर्ण दुईवटा बर र पिपलको चौतारो पूर्ण रूपमा ध्वस्त भएको छ।
समीको चौतारो समेत बाढीले क्षतिग्रस्त बनाएको छ।
करिब ३० मिटर लम्बाइ र १० मिटर चौडाइ क्षेत्रफलको मिवा वाकी प्लान्टेसन पूरै नष्ट भएको छ।
करिब ४० मिटर लम्बाइ र १० मिटर चौडाइ को जमिन नदीले कटान गरेको छ।
एउटा विद्युत पोल र सोलार बत्ती बगाएको छ।
पानी धारा समेत क्षतिग्रस्त छ।
पर्यटक तथा दर्शनार्थीका लागि बनाइएको दुईवटा प्रतिक्षालय जीर्ण अवस्थामा पुगेका छन्।

नेपाल प्रहरीको टोली सहित छाङ्गेश्वर मन्दिर संरक्षण समिति तथा गल्छी गाउँपालिकाले स्थलगत निरीक्षण गरी प्रारम्भिक क्षति विवरण संकलन गरिसकेको छ। समिति सदस्यहरूले यस्ता संरचनाको निर्माण, संरक्षण तथा संवद्र्धनमा वर्षौंको मिहिनेत बाढीले एकैपटक बगाएको भन्दै गहिरो पीडा व्यक्त गरेका छन्।

गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले अहिलेको अवस्था अत्यन्त दुःखद भएको भन्दै क्षतिको विवरणसहित जिल्ला प्रशासन कार्यालय, विपद् व्यवस्थापन समिति र अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिइएको बताउनुभयो। उहाँले संघीय तथा प्रदेश सरकारसँग तत्काल राहत, संरक्षण तथा दीर्घकालीन पुनर्निर्माणका लागि बजेट व्यवस्था गर्न पहल भइरहेको जानकारी पनि दिनुभयो।

स्थानीयबासी र संरक्षण समितिले छाङ्गेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई ध्यानमा राख्दै यसलाई सुरक्षित बनाउन दीर्घकालीन नदी नियन्त्रण योजना तत्काल आवश्यक रहेको माग गरेका छन्।