धादिङ — गल्छी गाउँपालिकाको आयोजनामा हुन गइरहेको “गल्छी कप” राष्ट्रिय र्यापिड चेस प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख १२ र १३ गते (अप्रिल २५–२६, २०२६) सञ्चालन हुने आयोजकले जनाएको छ।
गल्छी गाउँपालिकाका अनुसार प्रतियोगिता त्रिशूली भ्यु रिसोर्ट, बैरेनीमा बिहान १० बजेदेखि सुरु हुनेछ। गल्छी गाउँपालिकाले प्रथम पटक आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा स्विस लिग प्रणालीअनुसार ९ चरणका खेलहरू सञ्चालन गरिनेछन् भने प्रत्येक खेलमा १५ मिनेटको समय र १० सेकेन्ड इन्क्रिमेन्टको व्यवस्था गरिएको छ। टाइब्रेकका लागि डाइरेक्ट एनकाउन्टर, बुचहोल्ज कट–१ र २, जितको संख्या तथा कालो मोहराबाट खेलेका खेलहरूको आधार लिइनेछ।
प्रतियोगितामा मुख्यतर्फ पहिलो पुरस्कार २५ हजार रुपैयाँ, दोस्रो १५ हजार, तेस्रो १० हजारसहित विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ। साथै, धादिङ जिल्ला, गल्छी गाउँपालिका, महिला, विभिन्न उमेर समूह तथा रेटिङ समूहका खेलाडीहरूका लागि छुट्टाछुट्टै पुरस्कार पनि राखिएको छ।
खुल्ला, महिला, विद्यार्थी तथा स्थानीय खेलाडीका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय स्तरमा चेस खेलको विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ। साथै, बाहिरबाट आउने खेलाडीहरूका लागि आवास तथा व्यवस्थापनसमेत मिलाइएको जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन आवश्यक सबै व्यवस्थापन, प्राविधिक तयारी तथा समन्वय कार्य पूरा भइसकेको छ।