२६ चैत, ललितपुर। ललितपुरको पाटन दरबार स्क्वायरमा सम्पन्न शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराँते प्रतियोगितामा ठेचो डोजो टिम च्याम्पियन बनेको छ। ४६ सालको जनआन्दोलनका शहीदहरूको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा ठेचो डोजोले ५ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शनसहित शीर्ष स्थान हासिल गर्यो।
नेपाल सितोरियो कराँते डो संघ र प्रयागपोखरी डोजोको आयोजनामा तथा ललितपुर महानगरपालिकाको सहयोगमा भएको दुईदिने प्रतियोगितामा ५५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा नरहरिपुर डोजोले ४ स्वर्ण, ४ रजत र ३ कांस्य पदक सहित दोस्रो स्थान प्राप्त गर्यो भने नगदेश डोजो तेस्रो स्थानमा रह्यो, जसले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो।
व्यक्तिगत विधातर्फ पुरुषतर्फ आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलातर्फ भक्तपुर नगरपालिकाकी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। उदीयमान खेलाडीको रुपमा पुरुषतर्फ थिमी डोजोका आयुश लामा र महिलातर्फ बंगलामुखी डोजोकी अन्ना तामाङ छानिए।

विजेता तथा सहभागी खेलाडीहरूलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन निर्देशन समिति संयोजक माननीय मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायत विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
समारोहमा शहीद परिवार, जनआन्दोलनका अगुवा सुद्दाकार मुल्मी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सचिवालय सदस्य पुरेन्द्र बिक्रम लाखे, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार तथा वरिष्ठ कराँते प्रशिक्षक निवास गोपाल वैद्यको समेत उपस्थिति रहेको थियो।