२० मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप आइतबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताका सबै तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी दिए।

आठौँ संस्करणको राष्ट्रिय क्लब टिम च्याम्पियनसिप पाँच दिनसम्म चल्नेछ। टिमगत प्रतिस्पर्धामा २ हजारभन्दा माथि रेटिङ भएका एकसहित पाँच खेलाडी सहभागी हुनेछन्। आयोजकका अनुसार यस वर्ष २४ टिमको उपस्थिति सुनिश्चित भएको छ।
सहभागी टिममध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम प्रमुख छन्।
त्यस्तै भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदूरपश्चिम बुद्धिचाल संघ, मेचि नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ र बुटवल उपमहानगरपालिकाको पनि सहभागिता रहनेछ।
यस्तै युथ स्टेप्स टुवार्ड्स चेन्ज, पूर्वेली ब्रदर्स टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौं चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब र दोलखा जिल्ला बुद्धिचाल संघ पनि प्रतिस्पर्धामा उतरनेछन्।
कम्पिटिसन ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन हुनेछ। विजेता टिमले नगद २ लाख, उपविजेताले १ लाख, तृतीयले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ। पाँचौँदेखि सातौँ स्थान हासिल गर्ने टिमलाई २०-२० हजार प्रदान गरिनेछ। साथै उत्कृष्ट पाँच खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले प्रतियोगिता बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाको सहयोगमा नियमित रूपमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै समाचार संप्रेषणमा साथ दिन सञ्चारकर्मीलाई आग्रह गरे।